२०७६ असोज २७ सोमबार Monday, October 14

ताजा अपडेट :

Skip Advt.

निरन्तरको वर्षाले बाँकेका विभिन्न ठाउँ जलमग्न

image

रेडियो सद्भाव

नेपालगन्ज, ३ दिनदेखी वर्षाका कारण बाँकेका विभिन्न ठाउँ डुबानमा परेको छ । ढल तथा नालाको निकास थुनिँदा जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका हुन् । नेपालगन्जको धम्बोझी, घरबारीटोल, बेलासपुर, न्युरोड लगायतका ठाउँहरु जलमग्न छन् । आज पनि बिहानैदेखी पानी परिरहेको छ ।

 

नेपालगन्ज उपमहानगरपालिका १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती पनि डुबानमा परेको छ । केहि घरमा भित्रै पानी पसेको छ । न्युरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको निकास थुनिँदा बस्ती डुबानमा परेको हो । उक्त ढल उपमहानगरपालिकाले एकीकृत शहरी विकास आयोजनामार्फत् एसियाली विकास बैंकको ऋणरअनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको थियो । ठेकेदारले अधुरो छाडेको उक्त नालामा झारपात उम्रिएर निकास थुनीएपछि पानी बग्न नपाएर बस्ती डुबान गरेको स्थानीय शंकर ठकुरीले बताउनुभयो ।

 

नालाको निकास थुनिँदा सडकमा पनि पानी जमेको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणाले वर्षा लगत्तै नालामा पानी एकैचोटी बग्न नसक्दा जलाम्य भएको र केहि समयमै पानी सुक्ने बताउनुभएको छ । २०६३ सालयता देखिएको डुबान समस्या समाधान गर्ने भन्दै एसियाली विकास बैंकको ऋण÷अनुदान सहयोगमा सुरुमा एकीकृत हहरी विकास आयोजना सञ्चालन भएपनि आयोजना सम्पन्न नभएका कारण डुबानको समस्या झेल्नुपरेको भन्दै स्थानीय आक्रोशित छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ एडिबीको लगानीमा निर्मित ढल तथा नाला प्रभावकारी नहुँदाको परिणाम नेपालगन्जले डुबान समस्या खेप्नु परिरहेको बताउनुहुन्छ । जिल्लाका नरैनापुर, डुडुवा, राप्तीसोनारी गाँउपालिकाका बस्ती पनि डुवानमा परेका त्यहाँस्थित हाम्रा सहकर्मीहरुले बताएका छन् ।