२०७६ भदौ ४ बुधबार Wednesday, August 21

ताजा अपडेट :

कैलालीमा कर्मचारी नेताको हुकुमी शैली, समायोजन भएको स्थानमा हाजिर हुनै अटेरी

image

कैलालीको जोशीपुर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालीरहेका नारायण प्रसाद शर्मा साविकको जिल्ला विकास समितिबाट नियुक्त भएका कर्मचारी हुन्। नेपाल कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका शर्माले राजनीतिक आडमा स्थानीय तहमा हुकुम चलाएको आरोप लागेको छ।

राजनीतिक शक्तिको आडमा आर्थिक चलखेल गरी जोशीपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टलाई सरुवा गराई निमित्त प्रमुख बनेका शर्माले मनपरी गर्दै आएको र जनप्रतिनिधिका बिच समेत कलह सिर्जना गरेको आरोप लाग्दै आएको छ।

केही दिन पहिले अध्यक्ष र निमित्त प्रमुखले मनपरी गरेको भन्दै गाउँपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रम समेत वडा अध्यक्षले वहिष्कार गरेका थिए। गाउँपलिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष विधीराम चौधरीले अध्यक्ष र निमित्त प्रमुख प्रशासकिय अधिकृतले मनोमानी गरेकाले समिक्षा कार्यक्रम बहिष्कार गरिएको प्रतिक्रिया दिएका छन्।

गाउँपालिका अध्यक्षले एकलौटी गर्दै प्रशासनिक ज्ञान समेत नभएका साविकको स्थानीय निकायमा नियुत्त भएका शर्मालाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिदै मनोमानी गरेको विरोधमा आफू सहितका पाँचजना वडा अध्यक्षले समिक्षा कार्यक्रम बहिष्कार गरेको उनले बताएका थिए।

गत जेठमै धनगढी उप–महानगरपालिकामा समायोजन भईसकेका शर्माले राजनीतिक शक्तिकै आडमा जोशीपुरमा हुकुम चलाईरहेको वडा अध्यक्षहरुको आरोप छ। कर्मचारी ऐन २०७५ मा भएको कानूनी व्यवस्था विपरीत नेताहरुलाई रिझाएर संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट आर्थिक कारोबारको अधिकार सहित गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत हुन सफल भएका शर्माले राजनीतिक आडमै ऐन कानुन मिचेको आरोप जोशीपुरका जनप्रतिनिधि र कर्मचारीको छ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १० मा नेपाल सरकारले जिल्ला समन्वय अधिकारी र गाउँपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको पदमा निजामती सेवाको कुनै पनि अधिकृत कर्मचारीलाई खटाईने उल्लेख गरिएको छ। तर जोशीपुर गाउँपालिकामा भने प्रशासनिक ज्ञान नभएका तर राजनीतिक पहुँच र शक्ति भएकै आधारमा उक्त दफा विपरीत समान्य प्रशासन मन्त्रालयले नै शर्मालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएको छ। जुन सोही मन्त्रालयले बनाएको ऐन विपरीत छ।

दुईजना कर्मचारीलाई हाजिर लगाउन दिएनन् शर्माले 
जोशीपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्ट सरुवा भएर गएपछि समान्य प्रशासन मन्त्रालयले उनको ठाउँमा मातृका प्रसाद भट्टराईलाई पठाएको थियो। जेठ ७ गते गाउँपालिकामा हाजिर भएका भट्टराईलाई शर्माले नै काम गर्न नदिने वातावरण सिर्जना गरे।

उनले शर्मा विदामा गएको मौका छोपी हाजिर रजिष्टर नै च्यातेर फाल्ने सम्मका हर्कत देखाए। फलस्वरुप भट्टराई काम गर्ने वातावरण नभएको भन्दै सरुवा मागेर अन्तै गए। भट्टराईपछि प्रमुख प्रशासकिय अधिकृत भएर आएका थिए, श्रीप्रसाद गौतम तर गौतमलाई पनि गाउँपालिकामा काम गर्न दिईएन्। नारायण प्रसाद शर्माले आफू निमित्त प्रमुख प्रशासकिय अधिकृत बन्नकै लागि समान्य प्रशासन मन्त्रालयले पठाएका भट्टराई र गौतमलाई काम गर्न नदिएको आरोप छ।

समायोजन भएको स्थानमा हाजिर हुन अटेरी

जिल्ला समन्वय समिति कैलालीले नारायण प्रसाद शर्माको नाममा जेठ ३० गते पत्र काट्दै धनगढी उप–महानगरपालिकामा समायोजन गरिएको उल्लेख गरेको छ। समन्वय समितिको पत्रमा भनिएको छ, कर्मचारी समायोजन ऐन २०७५ को दफा ६ बमोजिम संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय (मन्त्री स्तर) को मिति २०७५÷१२÷१२ र २०७६÷१÷९ को निर्णय अनुसार तपाईलाई स्थानीय सेवाको पदमा धनगढी उपमहानगरपालिकामा कामकाज गर्ने गरी अधिकृत छैठौँ पदमा समायोजन गरिएको उल्लेख छ। तर शर्मा हाल सम्म कार्यालयमा हाजिर नभएको धनगढी उप–महानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए।   

कर्मचारी समायोजन ऐनको उल्लङघन 
साविकको स्थानीय निकाय हुँदा नियुक्ती पाएर अधिकृत छैठौँ पदमा कार्यरत शर्माले राजनीतिक शक्तिको आडमा कर्मचारी समायोजन ऐनको उल्लङघन गरेका छन्। कर्मचारी समायोजन ऐन २०७५ को दफा १३ को उपदफा १ मा सो ऐन बमोजिम समायोजन भएका कर्मचारी बाटोको म्याद बाहेक २१ दिनभित्र समायोजन गरिएको  प्रदेश वा स्थानीय तहको सेवामा अनिवार्य रुपमा हाजिर हुनुपर्ने उल्लेख गरिएको छ।

सोही दफाको उपदफा २ मा समायोजन हुँदाका बखत प्रसुती विदा, किरिया विदा, निलम्बनमा रहेको कर्मचारी, अध्ययन वा असाधारण विदा, विरामी परी अस्पताल भर्ना भएको कर्मचारीलाई ३५ दिन भित्र समायोजन भएको पदमा हाजिर हुनुपर्ने भनिएको छ।

सोही दफाको उपदफा ३ मा उपदफा १ र २ बमोजिमको अवधीभित्र हाजिर नहुने कर्मचारीलाई प्रचलीत कानून बमोजिम विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सेवाबाट अवकास दिन सक्ने व्यवस्था गरेको छ। तर जोशीपुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद शर्मा भने समायोजन भएको दुई महिना पूरा हुनै लाग्दा समेत धनगढी उपमहानगरपालिकामा हाजिर भएका छैनन्  

असोज सम्म कामकाज गर्न परिपत्र भएका कारण हाजिर भएन – शर्मा  
यता निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद शर्माले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्य सम्पादनमा समस्या पर्ने देखिए असोज सम्म कामकाज गर्न परिपत्र गरेका कारण आफू जोशीपुरमै काम गरिरहेको बताएका छन्।

उनले समान्य प्रशासन मन्त्रालयको उक्त परिपत्र पछि धनगढी उपमहानगरपालिकामा हाजिर नभएको बताए। गाउँपालिकामा मनोमानी र एकलौटी गरेको भन्ने आरोप निराधार भएको शर्माको दावी छ। शर्माले कोपोकल्पीत कुरा गर्नेहरुले विना आधार आफूलाई बदनाम गर्न खोजेको जिकिर गरे।

यसअघि सरुवा भएर आएका दुईजना प्रमुख प्रशासकिय अधिकृतलाई कामकाज गर्न नदिएको विषयमा पनि उनले त्यसमा आफ्नै कुनै भूमिका नरहेको तर्क गरे। शर्माले प्रमुख प्रशासकिय अधिकृतलाई चलाउने अधिकार आफ्नो नभई गाउँपालिकाका अध्यक्षको भएको सुनाउँदै आरोप अस्वीकार गरे।