२०७६ असार ३१ मंगलबार Tuesday, July 16

ताजा अपडेट :

४ घण्टा कार्यालय मै थुनिए सामुदायिक वनका पदाधिकारी र कर्मचारी

‘मिलेमतो’ मा वन फँडानी
image

कञ्चनपुर, लालझाडी गाउँपालिकाको एक सामुदायिक वनमा पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुख काटेको पाइएको छ । लालझाडी गाउँपालिका–५ को अपि सामुदायिक वनका सालका रुख वनका पदाधिकारी र वनका कर्मचारीको मिलेमतोमा काटिएका हुन् ।

 

वनका पदाधिकारी र लालझाडी सव डिभिजन वन कार्यालय अन्तर्गतको देखभुली पोष्टका कर्मचारीको मिलेमतोमा सालका रुख काटिएको लालझाडी गाउँपालिका–५ का वडा सदस्य बिरबहादुर विष्टले बताए । उनका अनुसार उक्त सामुदायिक वनमा साना ठूला गरी ४/५ सालका रुख काटेको पाइएको छ ।

 

‘१५ सालका गोलिया काटेको अवस्थामा भेटिएका छन्, उक्त काठ वनका कर्मचारी र पदाधिकारीको मिलेमतोमा काटिएका हुन,’ उनले भने, ‘यो वनमा समय समयमा काठको तस्करी भइरहेको हुन्छ, संरक्षणकर्मीकै मिलोमतोमा काठ तस्करी हुन्छ ।’ सामुदायिक वनमा सालका रुख काटिएको विषयमा वनका कर्मचारीलाई जानकारी गराउँदा समेत चासो नदिएको सामुदायिक वनका उपभोक्ता तथा कृष्णपुर नगरपालिका–३ का वडा सदस्य जहरसिंह कुँवरले बताए । ‘सामुदायिक वनमा रुख काटिएको पाइएपछि देखतभुली पोष्टका वन कर्मचारीलाई खबर ग¥यौं,’ उनले भने, ‘रुख काटिएको विषयमा वनका कर्मचारीले कुनै चासो दिएनन्, यसले पनि कर्मचारीको मिलेमतो देखिन्छ ।’

 

रुख काटिएको विषयमा सत्य तथ्य छानविन हुनुपर्ने सामुदायिक वनका पूर्व अध्यक्ष जगन्नाथ केसीले बताए । ‘जनप्रतिनिधि सहितको समिति गठन गरेर यसको छानविन गर्नुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘उपभोक्ताले अहिले काठ पाइरहेका छैनन्,  मिलेमतोमा काठको तस्करी गर्नु राम्रो होइन् ।’

 

हावाहुरी पीडितलाई वितरण गर्न हावाहुरीले ढलाएका रुख काटिएको अपि सामुदायिक वनका अध्यक्ष मदन नाथले बताए । ‘हावाहुरी पीडितलाई वितरणका लागि साना सालका बल्ली काटेका हौं, ठूला रुख काटिएको छैन्, १५ बल्ली काटेका हौं,’ उनले भने । सामुदायिक वनका पदाधिकारीसँग आफुहरुको कुनै मिलेमतो नरहेको लालझाडी सव डिभिजन वन कार्यालय अन्तर्गतको देखभुली पोष्टका रेन्जर जीवन भण्डारीले बताए । ‘रुख काट्ने कार्यमा हाम्रो कुनै संलग्नता छैन्, रुख काटिएको स्थानमा पुग्न केही ढिलाई भयो, समयमा त्यहाँ नपुग्दा उपभोक्ताले आरोप लगाएका हुन्,’ उनले भने,‘मछेलि खोला १ गोलया काठ बेवारिसे अवस्थामा भेटिएको थियो, त्यसको मुचल्का बनाउँदा ढिलो भयो, त्यसैले समयमा पुग्न सकेनौं ।’ रुख काटिएको विषयमा छानविन तथा अनुसन्धान गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजय बिक्रम मान्नधरले बताए ।
‘यस विषयमा अनुसन्धान गर्छौ, वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा रुख काटिएको भए कारबाही हुन्छ,’ उनले भने । सामुदायिक वनमा काटिएको काठको बरामद सोमबार गरिने उनले बताए । ‘ वनमा अनुगमन पनि गर्छौ, काटिएको काठ पनि बरामद गर्छौ,’ उनले भने ।

वनका कर्मचारी र पदाधिकारीलाई उपभोक्ताले देखभुली पोष्टको कार्यालयमा थुनेका छन् । पदाधिकारी र वन कर्मचारी को मिलेमतोमा सामुदायिक वनका सालका रुख काटिएको भन्दै उपभोक्ताले उनिहरुलाई तीन घण्टा  थुनेका हुन् । सामुदायिक वनका उपभोक्तले देखतभुली पोष्टका रेन्जर जीवन भण्डारी, फरेष्टर डम्मरराज ओझा, राम मिलन राना र वन रक्षक पदमसिंह धामीलाई कार्यकक्षमै थुनेका थिए । यस्तै सामुदायिक वनका अध्यक्ष मदन नाथ, उपाध्यक्ष दलबहादुर महरा, सचिव दिलिपसिंह ढाँट, सहसचिव धुब्रराज भट्ट र सामुदायिक वनका उपभोक्ता कमलापति घडेरीलाई पनि उपभोक्ताले थुनेका थिए । रुख काटिएको विषयमा छानविन गरि रुख काट्ने कार्यमा संलग्नलाई कारबाही गर्ने सहमतिपछि उपभोक्ताले उनिहरुलाई प्रहरीको जिम्मा लगाएको छ ।