२०७६ मङ्सिर २८ शनिबार Saturday, December 14

ताजा अपडेट :

Skip Advt.

उमेरले कान्छी भएपनि निर्णयमा परिपक्व छु : उपमेयर चौधरी

निर्णयमा परिपक्व छु : उपमेयर चौधरी
image

नारी साँच्चै कमजोर छैनन् । यसको ज्वलन्त उदाहरण हुन् शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी चौधरी । उपमेयर चौधरीको १७ वर्षकै उमेरमा विवाह भयो । जिम्मेवारी थपिदै गयो २० वर्षको उमेरमा एक सन्तानकी आमा बन्नुभयो । राजनीतिमा पनि सक्रिय चाैधरी २३ वर्षको उमेरमै जनताबाट निर्वाचित हुनुभयो । राजनीतिक र पारिवारिक जिम्मेवारी कसरी अगाडी वढाउनु हुदैछ ? जनताको सेवामा तल्लिन उपमेयरका भावी योजना के छन् ? उमेरले सानो ठूलो भन्दा पनि बिचार र काममा विश्वस राख्ने नेपालकै कान्छी उपमेयरसँग सहकर्मी शिव अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश…

उपमेयरज्यू, सवैले नेपालकै कान्छी उपमेयर भनि रहदाँ रिस उठ्दैन ?
मलाई रिस उठ्दैन । म २३ वर्षको हुदाँ चुनाव जितेको थिएँ । मलाई माया गरेर नै ‘कान्छी’ उपमेयर भनेको हो । मलाई खुसी लाग्छ ।

मेयर र उपमेयरको उमेर धेरै अन्तर छ, विचार मिल्छ ?
मिल्छ । मेयरले नराम्रा योजना ल्याउनु हुँदैन । मेयरले ल्याएका योजनाहरुमा मैले ‘सर्पाेट’ गर्छु र मैले ल्याएका योजनाहरुमा पनि मेयरले ‘सर्पाेट’ गर्नुहुन्छ ।

उमेर कम छ, केहि कुरा बुझेको छैन होला भनेर पनि कसैले त्यस्ताे व्यवहार गर्छन् ?
आजसम्म यस्तो व्यवहार गरिएको छैन् । तर चुनावताका वर्षाैं राजनीति गरेका पाका उम्मेद्धारहरु उठ्नुभएको थियो । त्यति बेला भन्नुहुन्थ्यो, सानो उमेरको छ । उसले त्याति बुझेको छैन् । यसले के गर्छे ? भन्थे तर निर्वाचित भइसकेपछि त्यस्तो कसैले पनि भन्न सकेको छैन् । सबै भन्दा ठूलो शिक्षा हो । म काम गर्दा अध्ययन गरेर मात्रै काम सुरु गर्छु ।

तपाई न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, जुन संविधानले अधिकार नै दिएको छ । संयोजक भएर काम गरिरहँदा तपाईलाई केही अप्ठ्यारो भएको छ ?
न्यायिक समिति सञ्चालन गरिरहँदा मलाई अप्ठ्यारो भएको छैन । किन भने हामीले निश्पक्षताको आधारमा काम गर्ने हो । कुनै–कुनै मुद्दामा राजनीतिक दवाव आउँछ । यो मेरो मान्छे हो, मुद्दा हेर्दिनु होला भन्छन् । म मुद्दाको जड के हो हेर्छु । अन्यायमा को परेको छ त्यो हेर्छु र निश्पक्षता र इमान्दारीताका साथ अघि बढ्छु ।

हिजोकी मेरी सानी छोरी, भतिजी, बहिनी आज मेरो विवाद हेर्ने भईसकी छ, भनेर आफन्तले भन्नुहुन्छ ?
भन्नुहुन्छ । गाउँघरमा सानो विवाद भए पनि मलाई बोलाउन आउछन् । म पनि त्यहाँ पुग्छु, जे उचित हो त्यहि भन्छु । अग्रजहरुले हामीले जिताएर त्यो ठाउँमा पुर्याए पछि आज हामीलाई यसरी सम्झाउने भइसकी भन्नुहुन्छ । खुसी लाग्छ ।

तपाईँलाई सोझो देखेर उपयोग वा प्रयोग गर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ नि होईन् ?
मलाई प्रयोग गरेर आफुले स्वार्थ लिन सक्दैनन् । त्यस्तो ठाउँनै मैले दिदैँन। निर्वाचित गराई सकेपछि जनतामा अपेक्षा त धेरै नै हुन्छ । सकेसम्म मैले पूरा गरेको छु । यदि मैले सकेन भने मैले बाटो देखाइदिन्छु ।

विवाहित हुनुहुन्छ, उपमेयरको रुपमा दौडधुप गरिरहनुहुन्छ घर परिवारमा समस्या हुदैन् ?
म चुनाव लड्नुभन्दा पहिले नै हाम्रो घर परिवारको सल्लाह भएको थियो । पूर्णरुपमा परिवारबाट साथ सहयोग पाएकी छु ।

धेरै नगरपालिकामा मेयर र उपमेयरबीच विवाद देखिन्छ । यस्ताे विवाद किन हुन्छ ?
उपमेयरलाई संविधानले धेरै अधिकार दिएको छ । उनिहरुले पूरा अधिकार प्रयोग गर्न पाएका छैनन् । त्यस कारण विवाद हुन्छ । हाम्रो नगरपालिकामा त्यस्तो भएको छैन ।

अझै पनि बालविवाह भइरहेको छ, अबका बालिकाहरुलाई के भन्नुहुन्छ ?
बालविवाह हाम्रो समाजको अपराध हो । सरोकारवाला निकायले बालविवाह न्युनिकरणको लागि जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिले १६\१७ वर्षको चञ्चले उमेरमै भागी विवाह गर्ने देखिएको छ ।

अहिले बालविवाह न्युनिकरण तपाईँको पहिलो प्राथमिकता हुनुपर्ने होइन ?
प्रत्येक टोलमा किशोरी संवाद गठन गरेका छौं । यसले गर्दा किशोरीहरु धेरै सचेत भइसकेका छन् ।

अन्त्यमा, तपाईँ केहि भन्न चाहनु हुन्छ ?
अमूल्य मत दिएर मलाई यो ठाउमा पुर्याउनुभयो विशेष धन्यवाद दिन चाहन्छु । मैले गरेका निर्णयमा म कहिल्यै पनि डगमगाएको छैन् । हिंसा न्युनिकरणको लागि बजेटमा त्यस्ता कार्यक्रम ल्याएको छु । महिला तथा युवालाई पनि विशेष जोड दिएको छु । महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्याक्ति लक्षित कार्यक्रमका लागि १ करोड भन्दा बढी बजेट छुट्याइएको छ । बालबालिका, अपाङ्ग, हिंसापिडित पिडित महिलालाई तत्काल उद्धार गर्न कोष खडा गरेका छौं ।

तपाईँको इच्छ वा लक्ष्य के छ ?
म अहिले नै केहि भन्न सक्दिन । जनताको इच्छ के छ ? मैले बुझ्नुपर्छ । जनताको साथ सहयोग पाएपछि मेयरमा जान्छु । मेरो राजनीतिक यात्रा विभिन्न चरणवद्ध हुन्छ । जनताको साथ सहयोग जहाँ सम्म हुन्छ त्याहि सम्म पुग्छु । देशकै कार्यकारी प्रमुखसम्म हुने सोच छ । मेरो खबरबाट