• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

ससंद बिकास कोषको रकम हिनामिना भएको हरिनगरका स्थानीयको आरोप

बजेट हिनामिना भएको भन्दै सुनसरी हरिनगरका स्थानीय आक्रोशित

Fm Radio Link

सुनसरी । ससंद बिकास कोषबाट ग्राबेल बाटो निर्माण गर्न आएको बजेट हिनामिना भएको भन्दै सुनसरी हरिनगरका स्थानीय आक्रोशित बनेका छन्। प्रदेश १ का सांसद ताहिर अन्सारीले हरिनगर गाँउपालिका ७ स्थित मोहरमी—कब्रस्थान चौकसम्मको बाटो निर्माणमा दिएको १० लाख बजेट उपभोक्ता समितिका पदाधिकारीले नै हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन्।


जैनुद्धिन आलमको अध्यक्षतामा बनेको समितिले ५४८ मिटर ग्राबेल सडक बनाउँदा कमसल निर्माण सामग्री प्रयोग गरी रकम हिनामिना गरेको बताइएको छ। १० लाख बजेटमा ४ लाख बराबरको मात्र काम गरेर बाँकी रकम समितिका सदस्यलाई बाँढेर रकम सकेको बताइएको छ। भारतीय सिमादेखि हरिनगर बजार जोड्ने सो बाटो नहुँदा बोर्डर आवत जावतमा समस्या हँुदै आएको थियो। 


सोही समस्यालाई मध्यनजर गदै सुनसरी क्षेत्र नम्बर ४ ख का सांसद अन्सारीले सांसद बिकास कोषबाट १० लाख रुपैँया बाटो निर्माणमा उपलब्ध गराउनुभएको थियो। निर्माण भएको करिब २० दिनपछि बाटो उस्तै भएको छ। बाटोमा प्रयोग गरिएको ग्राबेल कम मात्रमा देखिन्छ। यस्तै बाढीले बाटोको बीच भाग बगाएर लाँदा आवत जावतमा समस्या देखिएको स्थानीय महिला रोजिना खातुन बताउनुहुन्छ।


बाटो निर्माण गरेको १३ दिनमै बाढीले बाटो भत्काएको भन्दै खातुनले आफ्नो ९ बर्षीया नातिनिको खोला तर्ने क्रममा ज्यान गएको बताउनुभयो। स्थानीयले बाटो निर्माण कमसल भएको र रकम हिनामिना भएको जानकारी सांसद अन्सारीलाई दिँदा समेत अनुगमनमा नआएको उपभोक्ता समितिका सदस्य समेत रहनुभएका ग्यासुद्धिन मियाले गुनासो गर्नुभयो। बाटोको हिसाब किताव माग्दा आफुलाई एकल्याएर हिसाब नदेखाएको उहाँको आरोप छ।


यस्तै बाटोको अनुगमनको लागी बनाईएको समितिले पनि काम नगरी पैसामा बिकेको स्थानीय उपभोक्ताको भनाई छ। यता बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष जैनुद्धिन आलमले स्थानीयले आरोप लगाए जस्तो कुनै हिनामिना नभएको दाबी गर्नुभयो।


गाँउपालिका र वडा कार्यालयका प्रतिनिधि र इन्जिनियरको टोली बाटो अनुगमन गरी सबै कुरा ठिक भनेको र लागत खर्चको विवरण तयार भईरहेको उहाँले बताउनुभयो। बाटो निर्माणमा लागेको खर्च सबै क्लियर छ, खर्च विवरण केही दिनमा बनेपछि सार्वजनिक गर्ने अध्यक्ष आलमले बताउनुभयो।
 

प्रतिकृया दिनुहोस