• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

फूलको पनि खेती गर्ने : सिताराम

“फूल खेती पनि गर्ने कुरा हो र ?”

Fm Radio Link
सितारामको फूलबारीबाट

टीकापुर,फूलको व्यवसायिक खेती गर्ने सोंच बनाएका टीकापुर १ बनगाउका सिताराम चौधरीले आफ्ना साथीभाई शुभचिन्तकलाई फूल खेती गर्दा कस्तो होला भनेर सल्लाह लिन खोज्दा “फूल खेती पनि गर्ने कुरा हो र ?”। भनेर सितारामलाई नै प्रश्न गर्थे । साथीभाईलाई अचम्म लाग्ने कुरा हुने नै भयो ।

 

गाउघरमा जताततै पाइने फूल को किनी देला त्यो पनि टीकापुर जस्तो ठाउमा ।  घर–घरमा आफ्नो सोखकालागि भएपनि सबैले केही न केही फूल रोपेकै हुन्छन । मागेर पाउने कुरा किन्ने कुरै भएन । साथीभाईको कुरापनि जायज नै लाग्यो सितारामलाई । तर जे गरे पनि अरुभन्दा फरक गर्नुपर्छ भन्ने सोचाई उनमा पहिल्यैदेखी नै थियो । 

 

हुनपनि उनकै पहलमा पश्चिम नेपालको पहिलो थारु भाषाको चलचित्र कुहिरा केहि साथीभाई मिलेर बनाए । पश्चिम नेपालको पहिलो थारुभाषाको चलचित्र भएकाले चलचित्र धेरै नै चल्यो । चलचित्रले व्यापार पनि राम्रै ग-यो नाम कमाए, सम्मान पाए चलचित्र प्रमोसनकालागि ठाँँउ ठाँँउ पुगे तर पैसा चाही हातमा परेन । साथीभाईको लगानी रहेको र पैसा व्यवस्थापन गर्न नसक्दा पैसा भने बचाउन सकेनन उनि ।

 

फिल्म बनाउनु भन्दा पहिले उनि मुम्बईमा पनि केही फिल्ममा असिस्तेन्ट क्यामरा म्यानका रुपमा काम गरिसकेका थिए । फिल्म बनाउने भुत पनि उतैबाट चढ्यो उनमा । टीकापुरमा उनले धेरैका फोटो पनि खिचिसकेका छन । इन्द्रेणी फोटो ब्याङ्कको नाम रहेको फोटो स्टुडियो थियो उनको २०५१ सालदेखी २०५७ सालसम्म फोटो स्टुडियो चलाए । सभासमारोह विवाह विभिन्न पार्टीका कार्यक्रम भइरहने टीकापुरमा उनले मनमनै राम्रो बजार देखे फूलको। पछि त्यही नामले इन्द्रेणी फ्लोरीकल्चर एण्ड डेकोरेटर्सको नामबाट फूल खेती सुरु गरेका हुन । 

 

धान खेती, गहु खेती पछिबाट केरा खेतीको लागि प्रख्यात कैलालीमा यति धेरै फूल रोपेर के गर्ने भनेर धेरेैले भने सितारामलाई तर धेरै साथीहरुले यस क्षेत्रमा फरक र नौलो व्यवसाय सुरुवाट गरेकाले हौसलासमेत दिए । पछि साथी सम थापाको सल्लाहमा पाख्रिन नर्सरी चितवनबाट सयपत्री फुलको बेर्ना ल्याइ १० कठ्ठामा फूलको खेती गर्न सुरु गरे । अहिले सिताराम फूल खेतीबाट राम्रै आम्दानी गरीरहेका छन । पोहोर सालके फूल खेतीबाट उनले ३ लाख आम्दानी गरेको सुनाउछन ।

 

चैतमा  १० कठ्ठामा लगाएको फूल अहिले ढकमक्क फुलेको छ ।  उनले अहिले पनि दुईलाख पचास हजार जतिको फूल बेचिसकेको सुनाउछन । 

 

आजकाल सभा समारोह गर्नुपरे सितारामको फूलबारीबाट फूल गइरहेको छ । उनि स्थानिय बजार टीकापुर, भजनी,जोशीपुर,लम्की,सुख्खद,बौनिया, धनगढी, लगाएत कोहलपुर र दाङसम्म पनि फूल बेचीसकेका छन । फूलखेती गर्दा बजारको समस्या नभएपनि फूलको भण्डारणको समस्याचाहि रहेको उनि सुनाउछन । कोल्डस्टोर नभएका कारण टिपेको फूल राख्न कोहलपुर जानुपर्ने बाध्यता रहेको छ । टीकापुरमै कोल्डस्टोरको व्यवस्था भए किसानलाइ सजिलो हुने उनले सुनाए । 

 

पहिले पहिले फूलखेतीको बारेमा सुन्दा अचम्म माने पनि अहिले धेरैजना फूलखेती तर्फ आकर्षित भइरहेको कुरा सकारात्मक रहेको उनि सुनाउछन । उनकै माध्यमबाट अहिले लम्की भुरुवाका छोटेलाल चौधरी, कोहलपुरमा विष्णु चौधरी र दाडका लक्ष्मण रोकाले समेत केही जग्गामा फूल खेती सुरु गरेको बताए ।
 

प्रतिकृया दिनुहोस