• २०७६ असोज २७ सोमबार / Monday, October 14
Skip Advt.

आलेख : बोल्न छाडे अछामी भाषा

पहिलो लघुकथा सङ्ग्रह ‘भोल्छालको रामारोशन’

Fm Radio Link

अछाम, अछामी भाषाको संरक्षणमा कसैले चासो नदिंँदा भाषा नै नरहने जोखिम बढिरहेको छ । यो भाषाको छुट्टै लिपी छैन । अछामी भाषाको विषयमा पर्याप्त लिखित इतिहास पनि छैन । तर, बोलीचालीका हिसाबले अछामी भाषाको छुट्टै पहिचान र फरक धार खुट्याउन सकिन्छ ।


यसअघि अछामी भाषामा यस क्षेत्रका मौलिक देउडा गीतहरु थुप्रै रचिएका र बजारमा ल्याइएका पाइन्छन् । अछामी भाषाका विषयमा व्यक्ति पिच्छे फरक धारणा रहेको पाइन्छ । कतिपयले अछामको बान्नातोलि, कालागाउँ, जुपु, वलिगाउँ, मंगलसैन, कुन्तीबण्डाली, जनालिबण्डाली र बिरपथ क्षेत्रमा बोलिने भाषा नै खासमा अछामी भाषा रहेको तर्क गर्छन् भने कतिपयले आ–आफ्नो क्षेत्रमा बोलिने भाषा नै अछामी भएको दाबी गर्छन् । छिमेकी जिल्ला कालिकोट, डोटी र बाजुरासँंग सीमा जोडिएका स्थानहरुमा तीं जिल्लाहरुको भाषा समेत यसमा मिश्रण भएको पाइन्छ । आयातित र नेपाली भाषाको वर्चस्व बढ्दै गएपछि अछामी भाषाको प्रचलन विस्तारै घट्दै गएको हो । अछामी भाषा संरक्षण गरी मौलिकता जोगाइराख्न राज्य स्तरबाटै पहल हुनु आवश्यक भएको विज्ञहरु बताउँछन् । यसलाई लिपिबद्ध गर्नुपर्ने खाँचो छ ।




पहिलो लघुकथा सङ्ग्रह ‘भोल्छालको रामारोशन’

स्रष्टा मोहन शाहले भर्खरै प्रकाशनमा ल्याउनुभएको अछामी भाषाको आफ्नो पहिलो लघुकथा सङ्ग्रह ‘भोल्छालको रामारोशन’ मा यसरी चिन्ता पोख्नुभएको छ:



“कोईपन भाषा आफै भाषा हुन सक्तैन । त्यईको विकास र संरक्षणका लागि लाग्नु पड्डो छ । अछामी भाषाका विषयमा अछामी भाषीमाझ पन एकमुष्ट बिचार पलाउन सक्याको आछिन । थोकथोकाई जान्याँ सुन्याँ र भाषाप्रति माया हुन्याँ सचेत पुर्खाले फाट्ट फुट्ट अछामी भाषाका विषयमा कलम चलायापन अईलेको पुस्ता जम्मै अलमलमा पणेको छ । खासगरी कुणा हरिहेलु भन्याँ लिपिको अभावले अछामी भाषाका अद्द शब्द नेपाली भाषामा बदल्ली, मिस्सी सकेका छन् भन्या अद्द शब्द बोलिचालिमा नआँउनाले हराउन लाग्याका छन् ।”


उनानचास वटा कथा रहेको यस कृतिमार्फत शाहले अछामको स्थानीय परिवेश, प्रवृत्ति र यहाँको समग्र विकासमा चासो ब्यक्त गर्नुभएको छ । शाहले सुन्दर पर्यटकीय क्षेत्र रामारोशनको वर्णन सँगसँगै त्यसको भविष्यप्रति आशावादिता प्रकट गर्नुभएको छ । अछामको मौलिक परिवेश, पर्यटन, विकास, राष्ट्रियता, चुलिँदो बेथिति जस्ता पक्षमा पनि उहाँले कटाक्ष गर्नुभएको छ ।

अछामी भाषामा प्रकाशित लघुकथा सङ्ग्रहले भाषा संरक्षणका लागि केही आधार तय गरेको मान्नुपर्छ । कृतिबारे लेखक शाह भन्नुहुन्छ – “आज एक अछामीले आफ्नै मातृभाषा अछामी लवज बोल्न छाण्यापछी, अछामी भाषा बोल्यापछी अनपढ, गोठालो सम्झन्याँ अवस्थाले आफ्नो स्थानीयता र आफ्नो फरकपनको बित्तातोड हुँदै गयाको छ ।”

शाहले कथा सङ्ग्रहमा कुर्सीको लडाइँमा मुर्छा पण्याको देश, हलकट नेता चाम्णो राजनीति, न्याउँले खेल, भोल्छालको रामारोशन, म कुकुरको चौकीदार होइन, सुत्क्यारीको सुर्ता, त्यै वर्षको अनिकाल, खप्तडको रुवाबासि, हरायो जुम्ली काम्लो जस्ता मौलिक र यर्थाथपरक विषयहरुलाई उजिल्याउनु भएको छ ठेट अछामी शब्द र भाषा प्रयोग गरेर ।


आफू सबै कुरामा पूर्ण नभएको बताउनुहुने उहाँले अछामी भाषाका शब्दहरु जोगाउने हेतुले बोलीचालीमा रहेका शब्दहरुलाई लघुकथा सङ्ग्रहमार्फत स्थापित गर्न खोज्नुभएको छ । नेपाली भाषाकै सहोदर शाखा भाषाका रुपमा रहेको अछामी भाषालाई जोगाउन सबैले सरोकार राख्नसपर्ने बेला आएको उहाँ बताउनुहुन्छ ।

अछामी पत्रकारिताबाट अछामी भाषाको संरक्षण र सम्बद्र्धन गर्छु भनेर लागिरहनुभएका शाहले करीब दुई वर्षसम्म अछामस्थित रेडियो रामारोशनबाट समेत संरक्षणको अभियान थाल्नुभएको थियो । अछामी भाषाको चिनारी सँगसँगै स्वर्ग झैं सुन्दर अछामको पर्यटकीय क्षेत्र रामारोशनलाई चिनाउन र प्रचारप्रसार गर्न कथासङ्ग्रहको नाम ‘भोल्छालको रामारोशन’ जुराएको उहाँको भनाइ छ ।
अबको जिम्मेवारी

अछामी भाषाको विकास र संरक्षणका लागि पछिल्लो समय भने जिल्लामा स्वतःस्फूर्त रुपमा केही पहल भएका छन् । जिल्लामा सञ्चालनमा आएका विभिन्न एफएम रेडियोले अछामी भाषामा समाचार, कार्यक्रम र विज्ञापन प्रसारण गरेर भाषा संरक्षण र प्रचारप्रसारमा योगदान पु¥याइरहेका छन् । रेडियो रामारोशनले आफ्नो स्थापनाकाल २०६४ सालदेखि नै अछामी भाषामा समाचार बुलेटिन र कार्यक्रमहरु निरन्तर प्रसारण गरिरहेकाले पछिल्लो समय जिल्लावासीले पनि भाषाप्रति मोह राख्न थालेका रेडियोका स्टेशन म्यानेजर चन्द्रबहादुर थापाले बताउनुभयो । रेडियोका कारण पनि अछामी भाषाको संरक्षण र प्रचारप्रसारमा महत्वपूर्ण सघाउ पुगेको उहाँको भनाइ छ ।

विगतदेखि नै यहाँका कलाकारहरुले अछामी भाषामा गीत रचना गरेर बाहिर ल्याइरहेका छन् । तत्कालीन अवस्थामा राजाराम भाट, नरबहादुर भण्डारीदेखि नयाँ पुस्ताका देउडा गायकहरु लाल बहादुर धामी, देवेन्द्र भाट, जनक साउद, गोविन्द बिष्ट, जनक कार्की लगायतले पनि अछामी भाषाका शब्दहरु उनेर गीत रचना गर्नुभएको छ । तर विशुद्ध अछामी भाषाकै संरक्षण र प्रवद्र्धनका लागि भने निरन्तर र पर्याप्त काम भएको छैन । भावी पुस्ताका लागि पनि अछामी भाषाको मौलिकता जोगाइराख्न अपरिहार्य भएकाले यसतर्फ सबै सरोकारवाला जिम्मेवार हुनुपर्नेमा युवा समाजसेवी नमराज न्यौपानेले जोड दिनुहुन्छ । न्यौपाने भन्नुहुन्छ – “कतिपय अछामी शब्दहरु नेपाली भाषामा रुपान्तरण भइसकेका छन् । अछामी भाषाको संरक्षणका लागि पुस्तक प्रकाशनमा जोड दिइनुपर्छ । यसका लागि स्थानीय तहले पनि कार्यक्रम बनाउन आवश्यक छ ।”

देशमा सङ्घीय प्रणाली लागू भएर नागरिकले घरआँगनमै स्थानीय सरकारको अभ्यास गरिरहेको बदलिँदो परिवेशमा आफ्नो इतिहास, मौलिक पहिचान र परिचयका लागि पनि अछामी भाषा संरक्षण गर्नुपर्ने सवाल जोडदार रुपमा उठेको छ । मंगलसैन नगरपालिका प्रमुख तथा अछामको मौलिक इतिहासका जानकार पदमबहादुर बोहरा भन्नुहुन्छ – “अहिले बोलीचालीमा रहेका केही शब्द बाहेक अछामी भाषाका मौलिक शब्द हराइसकेका छन् । पहिले पहिले अछामी भाषालाई नेपाली भाषा भन्ने गरिन्थ्यो । अहिले पुराना सबै शब्दहरु लोप भइसके, नयाँ पुस्ताले बोल्नै छाडिसके ।”

यहाँको चालचलन, रीतिरिवाजसँगै अछामी भाषालाई पनि लिपिबद्ध गर्न आवश्यक रहेको बोहरा ठान्नुहुन्छ । कम्तीमा सञ्चारमाध्यममार्फत घचघच्याउने काम भइदिए स्थानीय तह र जनप्रतिनिधिहरुमा पनि यस कार्यमा लाग्न उत्प्रेरणा जाग्ने उहाँको विश्वास छ ।

प्रतिकृया दिनुहोस