• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

क्रसर सञ्चालकविरुद्ध राँके जुलुस: महोत्तरी

Fm Radio Link

बर्दिवास, महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ । 

 



आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गामा दिनहुँ अबेर राति सधैँजसो अनियन्त्रित उत्खनन गरेर क्रसर सञ्चालकले बालुवा, ढुङ्गा बाहिर लगिरहेपछि भङ्गाहा–४ का बासिन्दाले हिजो बिहीबार साँझ सोविरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् । 

 

 



केही दिन पहिले जिल्ला समन्वय समिति महोत्तरीको अनुगमनमा भङ्गाहा–४ मा सञ्चालित सबैजसो क्रसर अवैधानिक रहेको पाइए पनि ती बन्द भने हुन नसकेको त्यहाँका बासिन्दाको भनाइ छ । “जिल्ला समन्वय समितिबाट आएको अनुगमन टोलीले यहाँ सञ्चालित क्रसर अवैध रहेको ठहर त गर्यो  तर, क्रसर सञ्चालकले उत्खनन गर्न भने छाडेनन्”, विगतमा भङ्गाहा गाविस छँदा गाविस उपाध्यक्ष रहिसकेका मुकुन्द दाहालले भने, “त्यसैले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनविरुद्ध सबैको ध्यानाकर्षण गराउन राँके जुलुस आयोजना गरेका हौँ ।” 

 

 



बिहीबार अबेर साँझ भङ्गाहा–४ रामनगरस्थित हटियाचौरमा भेला भएका सयौँ सर्वसाधारणले हातहातमा राँको बालिएको भाटो लिएर ‘क्रसरको मनपरी बन्द गर, प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहन नियन्त्रण गर’ भन्ने नारा लगाउँदै चार किलोमिटर लम्बाइको रामनगर बस्ती परिक्रमा गरेका थिए । 

 

 



 

प्रतिकृया दिनुहोस
-->