• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

पुत्रलाभ भाइरल पछि पत्रकार रञ्जित लामाको यस्तो लेख : ‘पुत्रलाभ’ समाचारभित्रको अन्तर्य

Fm Radio Link

धनगढी/ कैलाली, मान्छे आफ्नै वाद र सिद्धान्तका लागि मरिमेटिरहेका हुन्छन् । आफ्नो ब्रहमले भ्याएसम्म फरक समय वा फरक भूगोलमा सत्यलाई परिभाषित गरिरहेका हुन्छन् । एउटै बस्तुको मान्छे पिच्छेको फरक–फरक परिभाषाहरु मध्ये कुन परिभाषालाई शाश्वत सत्य मान्ने त ? सत्यमाथि पनि प्रश्न तेर्सिएको छ अहिले । सत्य÷असत्य भन्ने कुरा बेतुकको कुरा हो ।

 

 

आफूले मानिआएको कुरा पूरै सत्य र नमानेको कुरा पूरै गलत हो भन्नु तर्कहीन छ; निराधार छ । सबै सत्यमा भ्रामक अंश मिसिएको हुनसक्छ र सबै असत्यमा आंशिक भएपनि सत्य मिसिएको हुन सक्छ भन्ने तर्कमा हामी कत्तिको सम्बेदनशील रह्यौं ? कुनै पनि बस्तु आफैमा असल र खराब हुँदैन त्यो हेर्नेको चित्त वृत्तमा निर्भर रहन्छ भन्ने कुराप्रति हामी कत्तिको गम्भीर छौं ? आ–आफ्नो देखाइ, भोगाइ र बुझाइहरुलाई मात्र सत्य मान्ने भए सत्य÷असत्य भन्ने कुरा नै रहदैन संसारमा । किनकि मान्छेले मानेको, जानेको र ठानेको भुक्तभोगी बुझाइहरुबाटै सत्यलाई प्रतिविम्बित गराउने कुरा हो । अतः मान्छेपिच्छेको बुझाईलाई शाश्वत सत्य मान्नुको कुनै अर्थै छैन ।

 


एउटा नेताले, कलाकारले, ब्यापारीले, खेलाडीले विवाह गरेनन् भन्ने विषय बढो प्राथमिकताको साथ सञ्चार माध्यममा छाउँछ । शरीरमा तापक्रम घट्बढ भएको सामान्य कुरादेखि लिएर प्राकृतिक सहजता र दैनिक कृयाकलापको समेत समाचार बन्दछ । तर समाजका प्रतिबिम्बहरुलाई अवलोकन गर्दै खुकुरीको धारमा आफ्नो घाँटी ददारेर जनतालाई सुसुचित गराउँने राज्यको चौथोअंग पत्रकारलाई पुत्र वा पुत्री लाभ भएको घटना किन समाचार नबन्ने ? पत्रकारका मातृशोक, पितृशोक, दुर्घटनामा हातको सानो छाला ताछिए समाचार बनाउँने हामीले पुत्र वा पुत्री लाभ भएको समाचार बन्दा आश्चार्य किन ? के सधै नकरात्मकताको मात्र समाचार बन्नु पर्छ भन्ने छ र ? 

 


‘कुरा काट्ने’ अर्थात ‘आलोचना गर्ने’ यो बानी हाम्रो गाउँ समाजमा यति प्रभावकारी र सशक्त बनि जरा गाडिएको छ जस्को जरा उखेलिन वा उखाल्न असम्भव झै देखिएको छ । किनभने नियतबश भनौं या भूलबश हामी पनि यस्तै प्रकारको जरालाई मलजल गरिरहेका हुन्छौं । आज मात्र हैन यो सदियौंदेखि चल्दै आएको सर्बब्यापी प्रचलन हो । समाजमा ब्याप्त आलोचनाको घेरा निकै ब्यापक र बलियो बन्दै गएको छ । यस्तो लाग्छ समाजमा आलोचकै आलोचकहरुले मात्र टन्न भरिभराउ भएको छ । केही हदसम्म यो कुरालाई नकार्न पनि मिल्दैन । घरको पालीदेखि गाउँको चोक र गल्लीसम्म, चिया पसलदेखि सिंहदरबारसम्म आलोचनाको खेती फल्न अनि फुल्न थालेको छ । तथ्यगत र बस्तुगत आलोचनाले ब्यक्तिलाई सुधारोन्खतर्फ डो¥याउन सक्छ भने कपोकल्पित, भ्रामक र सुनेकै भरमा गरिएको आलोचनाले समाजलाई दीगभ्रमित पारिरहेको हुन्छ जसले गर्दा समाज दृष्टि भएर पनि दृष्टिबिहीन झैं छामछुमे पारामा चलायमान रहनु पर्छ ।

 

 

आउजी दाम्पतीलाई पुत्रलाभ भएको समाचारको विरुद्धमा केही विद्वान मित्रहरुद्वारा प्रयोग भएका मेटाफर र सिमिलीले यो कुरालाई प्रष्ट पार्दछ । मोति गहिरो तलाउ पाइन्छ, सतहमा मिल्केको सेतो टल्कने ढुङ्गालाई नै मोति सम्झी त्यसको उपदेयता र गुण दोषलाई केलाउनु किमार्थ राम्रो कुरा हैन । गाली नै गर्नुछ, आलोचना नै गर्नु छ भने त्यस्को गहिराइमा पुगेर, त्यस्को तथ्यमा टेकेर गाली गर्नु उक्तम हुन्छ । सुनेकै र भनेकै आधारमा सत्य मानिहाल्नु, सुनाउनेको शैलीगत कौशलता अनि सुन्नेको अनुसन्धानहीन सुनवाईले समाज पक्कै राम्रो बाटोतर्फ डोरिन सक्तैन । मान्नै पर्ने मान्छेहरु अमानी र बैमानीहरु मानी भएर हिडिरहेको अवस्थामा सत्यमार्गीहरुको लागि यो प्रसङ्गहरुले उनीहरुको मन मुटुलाई चिथोरिरहेको हुन्छ । अतः मान्ने र ठान्ने कुराहरुमा हत्तार नगरि हालौं । 

 


आउजी दाम्पतीलाई पुत्रलाभ भएको समाचार पत्रकारिता जगतमा नयाँ र नौलो हुनसक्छ तर समाचार बन्नै हुन्न भन्ने कहाँ छ र ? बिभिन्न जोखिमता उठाएर आर्थिक संकटसँग पैठेजोरी खेल्दै समाजलाई सुसुचित गराउँने राज्यको चौथो अंग पत्रकारको समाचार बन्नलाई गोदाइ नै खानु पर्ने ? मर्नै पर्ने ? यदि यसो भने यो परिपाटी बद्लिन आवश्यक छ । 

 


“संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ” भन्ने डा. योगी विकाशानन्दको भनाई जस्तै समाज परिवर्तन गर्नलाई सर्बप्रथम परिवर्तनको शुरुवात स्वयं आफैबाट हुनु जरुरी छ । हामी सामाजिक प्राणी हौं, हामीलाई समाज हरहालतमा चाहिन्छ, समाजमा छरिएर रहेका कु–संस्कारहरुलाई हामीले नै निम्ट्यान्न पार्न सक्नु नै एउटा असल नागरिकको पहिचान पनि हो । तर समाजिक हुनुको नाउँमा राज्य बिरोधी कार्य गर्न प्रेरित हुनु हुँदैन । झिंगालाई फोहर मन पर्छ भन्दैमा आफू फोहरी बन्न खोज्नु कहाँसम्मको बुद्धिमता होला ? त्यसैले समाज कस्तो छ भन्नु भन्दा पनि समाज कस्तो हुनु पर्छ भन्ने सन्दर्भमा हाम्रो सदैब ध्यानाकार्षण हुनुपर्दछ । एउटा आदर्श समाज, एउटा परिकल्पित समाजको रुपरेखा कोर्दै लैजानु हरेक नागरिकको कर्तव्य हो । अकर्मण्य र पुरातनवादी सोंचहरुलाई चिर्दै एउटा नवीन नूतन समाजको विस्तार गर्न सक्नु आजको टड्कारो आवश्यक्ता पनि हो ।

 

 

दृष्टिबिहीनको देशमा महादृष्टिबिहीन पुजिनु र बहिरोको देशमा महाबहिरो पुजिनु कुनै नौलो कुरा हैन । तर दृष्टिबिहीनको देशमा गएर इन्द्रधनुष रङ्गको कुरा गर्नु र बहिरोको देशमा गएर सङ्गीतको कुरा गर्नु जस्तो अप्ठ्यारो अरु केही हुन सक्तैन । तर अप्ठ्याराकै डरले यसको चर्चा नगर्ने परिपाटीले आज हामीसँग आँखा भएर पनि दृष्टिबिहीन र श्रवण इन्द्रिय भएर पनि बहिरो समान भएका छौं । यसर्थ आँखासहितको दृष्टिबिहीन हुनु भन्दा त आँखाबिहीन दृष्टिबिहीन हुनु कयांै गुना समाज सुहाउँदो हर्कत मान्न सकिन्छ । त्यसैले दृष्टिबिहीनलाई मार्गदर्शन गराउनु दृष्टी हुनेहरुको पूर्ण जिम्मेवारी हैन र ? समाजको आलोचनको डरले नयाँ काम गर्न डराउनु कायरता र काँतरपन बाहेक अरु केही हैन । कुनै समय इटालियन वैज्ञानिक ग्यालिलियोले पृथ्बी गोलो छ भन्दा झण्डै ज्यान गुमाउनु परेको थियो । त्यो बेलाको समयमा पृथ्बीलाई च्याप्टो छ भन्ने मान्यता बोकेकाहरुले पनि पछि यस कुरालाई स्वीकार नगरिरहन सकेन । फलस्वरुप एउटा नौलो अध्यायको प्रारम्भ भयो । त्यसैले नौलो अध्याय र कायापलट गर्नलाई नवीनतम सोंच र थौरै आँट भर्नै पर्छ । पत्रकारको समाचार बन्नलाई गोदाइ खानै पर्ने, मर्नै पर्ने भन्ने अध्यायको अन्त्यको लागि यो बहसको आरम्भ होस् भन्ने मेरो यतिखेर यही उत्कट अभिलाषा छ । 

 


मान्न र ठान्नलाई कुनै बौद्धिकताको आवश्यक्ता पर्दैन । बनि बनाउ बाटाहरुमा हिड्नु नवीनता हैन नवीनता त त्यो हो जो आफै बाटाहरु निर्माण गर्दै हिड्छन् र हिडाल्छन् पनि । सदियौंदेखि चलेको चलन हो, प्रचलन हो भनेर इटालियन ग्यालिलियो पनि मानेको भए सायद आज सत्य अर्कै हुन्थ्यो होला । समाजमा यस्ता कयौं संस्कारहरु छन्, कयौं कार्यव्यवहारहरु छन् जस्लाई परख गर्न अत्यावश्यक रहेको छ । समय सापेक्ष मानेका कुराहरु मान्न योग्य नहुन पनि सक्छ । हिजोको सत्यतथ्य आजलाई समय सान्दर्भिक नहुन पनि सक्छ । त्यसैले नयाँको धर्म नै परिवर्तन हुनु हो । पुरातनलाई विस्थापित गराउदै नवीनताको प्रविष्ट हुनु आजको अभीष्ट पनि हो ।

 

 

आउजी दाम्पतीलाई पुत्रलाभ भएको समाचार सोमबार एकाएक भाइरल भयो, बिभिन्न किसिमका टिकाटिप्पणीहरु सामाजिक सञ्जालका भित्ताहरुमा छर्पष्टिए, कत्तिले त खसीबोकादेखि लिएर निकृष्टताको सीमा समेत नाँघे भने कसैले आउजी दाम्पतीको पुत्र लाभ भएको विशेष घटनालाई नै लघुताभाषको चश्मा लगाएर हेरे । अरुको जन्म मृत्यु जस्तो जीवनका विशेष क्षणलाई सामान्यकरण गरेर हेर्ने केही विद्वान मित्रहरुको टिप्पणप्रति मेरो घोर आपत्ती छ । आउजी दाम्पती विशिष्ट र अन्य सामान्य हुन् भन्ने मेरो तर्क होइन । तर्क हो पत्रकारका दुःखको समाचार बन्ने तर सुखको किन नबन्ने भन्ने मात्र हो । तथ्य जस्तै लाग्ने तथ्यहीन प्रसङ्गहरुलाई बिना चेक जाँच, बिना परख र बिना अनुसन्धान नै तथ्य मानिहाल्ने बुद्धिजिबी, भलादमी र हामीहरुकै मथिङ्गलको उपजले आज आउजी दाम्पत्ति खुशीको क्षणमा पनि मुस्काउन सकिरहेका छैनन् । दोष कसलाई दिने ? आउजी दाम्पत्तिको खुशीको क्षणलाई एउटा पत्रकारले खुशी साटेर समाचार लेख्ने पत्रकारलाई दोष दिने कि ? खसीबोकादेखि लिएर निकृष्टताको सीमा समेत नाँघ्ने विद्वान मित्रहरुलाई ?
 

प्रतिकृया दिनुहोस
-->