• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

अलमलमै बित्यो सरकारको बीस प्रतिशत समय

- भूपेन्द्र शाह

Fm Radio Link

संसदीय राजनीतिको विकृती,विसंगती, दशवर्षे माओवादी ध्वंश र राजा ज्ञानेन्द्रको दमनले उकुसमुकुस भएका मुलुकवासी जनता सडक ओर्लिदा नेपालमा अकल्पनीय परिवर्तन हुन पुग्यो । नेपालको राजनीतिक परिवर्तनमा पर्दा पछाडीबाट गरिएको अनेकौं लगानी उठाउने नाममा भरिएको पहिलो संविधान सभा दक्षिण र पश्चिमको टकरावको कारण असफल हुन पुग्यो । जनतासँग अब गल्ती नगर्ने बाचा सहित सम्पन्न दोस्रो संविधान सभा मार्फत भिराइएको उपलब्धीपछि सम्पन्न स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन परिणामले मुलुक बनाउने अवसर वाम गठबन्धनले प्राप्त गर्यो । तीनै तहमा मतपत्र मार्फत सुम्पीएको जिम्मेवारी सहित केन्द्रमा बनेको दुई तिहाईको सरकार बनेसँगै देशमा एक किसिमको उत्साह, उमंग, र सिर्जना भएको एक वर्ष पूरा भएको छ ।


शान्ति, स्थीरता, विकास र समृद्धिको नारामा संसदीय र ध्वंशको अनुभवले खारिएको (पूर्व एमाले र माओवादी केन्द्र) नेकपा सरकारले जनताको उत्साहलाई सहि ढंगले न्याय गर्न नसकेको अनुभव सर्वसाधरण मानिस सँग सोध्दा थाहा लाग्छ । खासै ठूलो अपेक्षा नराखेको समयमा असंख्य सपना देखाउँदै सिंहदरवारमा विराजमान भएको ओली सरकार विचित्रको अलमलबाट गुज्रदैछ । शुरुवाती समयमा सिण्डिकेट बिरुद्ध जाग्ने जाँगर, जाँदा जाँदै देउवा सरकारले गरेको अनियन्त्रित बजार भाउ नियन्त्रण गर्न लाग्ने कार्य, छिमेकी देशसँग सन्तुलित सम्बन्ध विकास गर्ने तत्परता, ३३ किलो सुनकाण्डका अपराधी माथि अनुसन्धानमा तिव्रता जस्ता कार्यले आम मानिसमा आसाको दियो बाल्न सफल भयोे ।


राजनीतिक हस्तक्षेपको कारण थिलथिलो भएको प्रहरी संगठन, हर क्षेत्रमा विचौलियाको जगजगी, संबैधानिक निकायको सुधार, न्यायको क्षेत्रमा हुने अन्यायपूर्ण ब्यवहारमा तत्काल सुधारको आसा आज सम्म शुरुवात भएको देखिदैन । ध्वंश, अन्याय, अत्याचार, भ्रष्टाचार, राज्य दोहन, नातावाद, कृपावाद, दलालीका कारण विचौलियाको चरम शोषणमा परेका जनता सामान्य सुधारको काम देख्न पाउँदा पनि खुसी हुने वर्तमान सरकारले सुन्न र देख्न चाहेन ।


केवल ठुला कुरा गर्ने, गफमा रमाउने, अनुपयूक्त तामझाम र हल्ला बाजीबाट जनतालाई अल्मल्याउने सरकारी काइदा पछि विगतमा शंकाको लाभ दिने जनता न हर्षित छन्, न विस्मात नै । समृद्धिको निम्ती सुशासन, कार्यक्रम, कार्यक्षमताले भरिपूर्ण टिम चाहिने कुरालाई प्रधानमन्त्री ओलीले विशेष ध्यान र रुची दिन चाहेनन् । अर्ति, उपदेश, आदेशमा रम्दै जान अन्जान मै सुशासनको खिल्ली उडाने कार्यहरु जन्म दिन मनाउने संस्कृतीको शुरुवात गर्दै ढुकुटी रित्याउने,नयाँ युगको शुरुवातको नाममा तामझाम गर्ने, इसाई समिटमा सहभागी हुन वालुवाटारबाट होटलमा बास बस्ने शैलीले प्रधानमन्त्री भित्र विचित्रको वाम सिद्धान्त रहेको देखा पर्यो ।


देशको पूर्व प्रधानमन्त्रीले सडक निरिक्षणपछि दिएको निर्देशन ठेकेदारले वास्ता नगर्ने, नागढुङ्गा कलकीं सडक ठेकेदारले सरकारी आदेशलाई लत्याउने घटनासँगै जनताको नजरमा सरकारको उपस्थिती निरिह बन्न पुग्यो । साथै जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्दा भारतीय सेनाको मार्चपासलाई निरह ढंगले हेर्न बाध्य जनताले सरकार प्रतिको भरोसा झनै ओरालो लाग्न पुग्यो । सिण्डिकेटमा एक कदम अघि बढेर दुई कदमपछि हटेसँगै थपिएको निर्मला काण्ड, वाइडबडी काण्ड, इसाई समिट काण्डले वाम सरकार नराम्रो सँग चुकेको मान्ने आधार सिर्जना भयो ।


कहिले ढुकुटी खाली छ भन्ने, कहिले लगानी सम्मेलन गर्दै अर्थको जोहो गरिने छ भन्दै दिन गुजारिरहेको वाम सरकार आफ्नै सरकारले विकास निर्माणको निम्ती छुट्याएको रकम खर्च हुन नसकेको बिर्सदै छ । दिन प्रतिदिन नयाँ कार्यक्रम घोषणा गर्न मरिहत्ते गरिरहेको वाम सरकार राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी पछाडी धकेलिए सँगै उसका तमाम प्रतिबद्धता शंकाको घेरामा पर्दै गरेको देख्न सकिरहेको छैन ।


जनताले सुम्पिएको ५ वर्षे सत्ताको २० प्रतिशत समय अलमलमा बिताएको ओली सरकार निर्वाचन ताका भन्ने गरेको ३२ वा ४० मा पास हुँदैन । डिस्टीन्सन नै ल्याउँछ भन्ने कुरा भाषण मै सिमित भएको वाम कार्यकर्ताहरुको गुनासो रहेको देखिन्छ । भिमकाया पार्टी भित्र रहेका पूर्व प्रधानमन्त्रीहरुको भीड, पूर्व मन्त्रीका लाइन, पूर्व र वर्तमान असंख्य सभासदहरुको अनुभव लिन नरुचाएको ओली सरकार तत्काल पार्टी घोषणापत्र, कार्यक्रम र जनताको साथ लिदैं अघि बढ्न ढिला गरे बाँकी रहेको ४ वर्षे अवधीमा मुलुकले चाहेको समृद्धि प्राप्त हुने देखिदैन । तसर्थ आम जनताको आंकाक्षामा कुठाराघात नगर्न आजै देखि दिन रात एक गर्न जरुरी देखिन्छ ।


- भुपेन्द्र शाह 

प्रतिकृया दिनुहोस
-->