• २०७५ पौष ४ बुधबार / Wednesday, December 19
ad

‘सुरक्षित आवास आफैँ बनाऔँ’

Fm Radio Link



सुनकोसी - सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाका तीन वडामा शतप्रतिशत सुरक्षित आवास घर निर्माण भएको छ ।

 



कारितास नेपालको भूकम्प पुनःनिर्माण परियोजनाअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको समन्वयमा यहाँका ६५३ घर निर्माण गरिएको हो । 

 


तीन वर्षको प्रयासमा सुनकोशी गाउँपालिका वडा नं १, २ र ३ (साविक ठोकर्पा र कालिका गाविस)मा भूकम्पले घर भत्काएकामा नयाँ निर्माण गरिएको र सोही गाउँपालिकाको वडा नं ४ र ५ मा भने प्राविधिक सहयोग उपलब्ध गराइएको थियो ।

 

 

“तीन घर भने सम्झौता गर्न नआएकाले निर्माण हुन पाएन, अरु शतप्रतिशत घर बने”, कारितास नेपालका कार्यक्रम व्यवस्थापक मणिन्द्र मल्लले भन्नुभयो ।

 

 

देशका धेरै जिल्लामा पुनःनिर्माणको कामले गति लिन सकिरहेको छैन । ‘सुरक्षित आवास, आफैँ बनाऔँ’ भन्ने उद्देश्यअनुरुप यहाँ शुरु भएको पुनःनिर्माण अभियान कार्यक्रम सफल भएकामा स्थानीयवासी दङ्ग परेका छन् । घर निर्माण भएपछि आइतबार स्थानीय वडा कार्यालयलाई हस्तान्तरण गरिएको थियो । 

 


सारा गाउँले ढोकामा ताल्चा लगाएर हर्षका साथ कार्यक्रममा सरिक भएका थिए । कार्यक्रममा सहभागी हुन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित जिल्लाका उच्च सरकारी अधिकारीलाई गाउँलेले स्वागत गरे । आफ्नै स्थानीय मौलिक गीत सङ्गीतका साथै कलाकार दमन रुपाखेती र शिवहरि बैरागीको प्रहसनले सहभागीहरूलाई मनोरञ्जन गराएको थियो । भिरालो जमीनलाई खारेर सम्म पारिएको स्कूल चौरमा लौरो टेकेर वृद्धवृद्धा समेत कार्यक्रममा सरिक थिए । 

 



“गाउँले जुटे भने र काम गर्नेले तदारुकता दिए हरेक कुरा सम्भव छ भन्ने उदाहरण यही हो, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “कतिपय ठाउँमा ढिला छ, यहाँ शतप्रतिशत काम हुनु गाउँका लागिमात्रै होइन नेपाल सरकारकै लागि सहयोग हो ।

 

 

उक्त संस्थाले भूकम्प प्रभावित चार जिल्लामा भवन पुनःनिर्माण गरिरहेको छ । नेपाल सरकारले दिने रु तीन लाख सो संस्थाले उपलव्ध गराउँछ । त्यसमाथि आवश्यक प्राविधिक सहयोगका साथै उनीहरुको जीविकोपार्जन तथा गाउँका अन्य समस्यामा समेत संस्थाले हातेमालो गर्दै आएको छ । पुनःनिर्माणमा कूल रु ५५ करोड २० लाख लगानी भएको र स्थानीयवासीको सक्रिय सहभागिताले निर्माण सम्भव भएको व्यवस्थापक मल्लले बताउनुभयो । 

 


विसं २०७२ वैशाख १२ मा आएको भूकम्पले सबै घर भत्किाएपछि न खाने अन्न, न त लगाउने लुगा नभएकामा उक्त संस्थाले त्यसको चार दिनपछि राहतका सामग्री वितरण गरेर पीडा हुनबाट जोगाएको अनुभव गाउँलेको छ । “पीडामा परेकालाई मलम लगाउँदै पुनःनिर्माण अभियान चलाएर अहिले सबै नयाँ घरमा बस्न पाउनु योभन्दा खुशी अरु के हुनसक्छ”, सुनकोशी गाउँपालिका– ३ का अध्यक्ष रामहरि खड्काले भन्नुभयो । 

 



घर पुनःनिर्माण भएको प्रमाणपत्र बुझ्दै खड्काले थप छुटेका भूकम्प प्रभावितका केही गुनासा आएकाले उनीहरुको गुनासा सम्बोधनका लागिसमेत प्रयास भइरहेको बताउनुभयो । सो क्रममा पहिलो घर निर्माण गर्ने स्थानीय मोहनबहादुर खड्कालाई सम्मानसमेत गरिएको थियो । खड्काले एक महीनाको अवधिमै घर निर्माण गर्नुभएको थियो । 

 



प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले यहाँ आउँदा सर्वसाधारण खुशी र सुखी भएको आफूले महसुस गरेको प्रतिक्रिया दिनुभयो । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी र उपाध्यक्ष लक्ष्मी पौडेलले गाउँवासीलाई आयआर्जनमा लाग्न आह्वान गर्दै छुटमा परेकाको विषयमा पहल भइरहेकाले दुःख नमान्न आग्रह गर्नुभयो ।

 

 

प्रदेशसभा सदस्य सरेश नेपाललले घर पुनःनिर्माण भएकाले अब गाउँका समस्या समाधान गरेर विकासतर्फ अग्रसर हुनुपर्ने बेला आएको बताउनुभयो । कारितास नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर बोगटीले घर पुनःनिर्माणका हिसाबले दोलखाको ओराङ पहिलो र सुनकोशीको कालिका गाउँ दोस्रो भएको जानकारी दिँदै अन्य चार वटा जिल्लामा समेत काम भइरहेको बताउनुभयो ।

 



निजी आवास पुननिर्माण हस्तान्तरणका क्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, आइडिया फर नेपालकी अन्तर्राष्ट्रिय निर्देशक चिङ चिङ से तथा दिनविनोद घिमिरे, रामसिंह यादव, सुनिता श्रेष्ठलगायतले पुनःनिर्माणको प्रशंसा गरेका थिए । 

 



उक्त संस्थाले दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न वडामा चार हजार ८२५ घर निर्माणको जिम्मा लिएकामा अहिलेसम्म चार हजार नौ घर निर्माण भइ ९३ प्रतिशत काम सम्पन्न भएको र करीब ५०० घर निर्माणाधीन अवस्थामा रहेको परियोजनाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
-->