२०७५ चैत ६ बुधबार Wednesday, March 20

ताजा अपडेट :

चाउमिन उद्योगले चर्चामा दिपक

image

पढाईका हिसाबले उनी स्वास्थ्यकर्मी हुन् । केहि समय सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा सेवा पनि गरे । तर उनले स्तर अनुसारको काम नपाएपछि स्वास्थ्य संस्थामा काम गर्न छाडेर फेरी पढाइमै फर्किए । पढाइमा पनि उनको मन लागेन् । फेरी बिचमै पढाई छाडेर उनी सानो उद्योग सुरु गर्नतिर लागे ।  
 

शुक्लाफाँटाका युवा दिपक भट्टले सात वर्षअघि सामान्य लगानीबाट सुरु गरेको त्यहि उद्योग अहिले शुक्लाफाँटा नगरपालिकामा स्थापित भएको छ । शुक्लाफाँटा नगरपालिका– १० झलारीका भट्ट २०६८ देखि निरन्तर चाउमिन उद्योगमा लागेका छन् । उद्योगमा ५ जनालाई रोजगारी समेत दिएका छन् । 
 

दिपकले ७ वर्ष अघि ५ लाख रुपैयांको लगानीमा सुरु गरेको चाउमिन उद्योग अहिले जीविकोपार्जको प्रमुख माध्यम बनेको छ । घर परिवारको सहयोगमा सुरु गरेको उद्योगमा अहिले १५ लाखको सम्पती छ । उनले उत्पादन गरेको चाउमिन शुक्लाफांटा, कृष्णपुर, बेदकोट भीमदत्त नगरपालिका बजारमा बिक्रि भइरहेको छ । ‘सुरुमा चाउमिन उद्योग सञ्चालन गर्दा धेरै समस्या भोग्नु प¥यो, चाउमिन खासै बिक्रि हुँदैन थियो, बजारको अभावले धेरै दिन त चौउमिन खराब भयो’ सुरुमा बजारको समस्या भोगको बताउंदै दिपकले भने, ‘अहिले दैनिक ४ क्विण्टल बिक्रि भइरहेको छ ।’ 
 

धनगढीबाट मैदा ल्याएर चाउमिन उत्पादन भइरहेको छ । सरकारी निकायबाट खासै सहयोग नगरेको उनि बताउँछन् । ‘सरकारी निकायबाट पहुंचको आधारमा अनुदान वितरण हुन्छ, मिहिनेत गरि खानेले पाउन गाह्रो छ,’ उनले भने । सरकारी निकायले उद्योगबाट उत्पादन हुने चाउमिनको गुणस्तर चेकजाँच गरिदिए पनि खाद्यन्न उत्पादन गर्नेलाई सहयोग पुग्ने दिपक बताउछन् ।
 

 चाउमिन उद्योगसम्म कसरी पुगे ?
माध्यमिक शिक्षासम्म डडेल्लधुराको सिद्धनाथ माध्यमिक विद्यालय चन्दनी तातापानीमा पढेका दिपक उच्च शिक्षा हासिल गर्न महेन्द्रनगर आए । उनले महेन्द्रनगरमा १५ महिने प्राविधिक शिक्षा ल्याब असिसटेन्ट पढे । पढाई सकेर उनि सरकारी जागिरका लागि भौतारिए । जागिर खोज्ने क्रममा उनले डडेल्लधुराको टिम हस्पिटल र प्राथमिक स्वास्थ्य केन्द्र जोगबुढामा काम पाए । तर, दक्षता अनुसारको सुबिधा नपाएपछि काम छाडेको दिपकले बताए । ‘काम अनुसारको सेवा सुविधा नपाएपछि थप शिक्षा लिन फेरी महेन्द्रनगर आएर सिद्धनाथ बहुमुखि क्याम्पसमा उच्च शिक्षाको पढाई सुरु गरे,’ उनले भने, ‘त्यहाँबाट बेचुलर तेस्रो बर्षसम्म पढाई गरे ।’ २०६८ सालमा काका रामदत्त जोशीले सञ्चालन गरेको चाउमिन उद्योग बन्द थियो । 

 

बन्द रहेको उद्योग बुटबलबाट मेसिन ल्याएर सञ्चालन गरेको दिपकले बताए । ‘उद्योग त सञ्चालन गरे तर, समस्या धेरै भोगे, सुरुमा झलारी बजारमा मात्र चाउमिन बिक्रि हुन्थ्यो,’ उनले भने, ‘निरन्तर प्रयासले अहिले सफल भएको छु ।’ उनले चाउमिन उद्योगलाई विस्तार गर्ने योजना बनाएका छन् । आफ्नै भवन निर्माण गरेर आधुनिक तरिकाले उद्योग सञ्चालन गर्ने उनले बताए । ‘उद्योगमा काम गर्ने कर्मचारीलाई पनि खातामा तलब दिने, कर्मचारीको बिमा गर्ने योजना बनाएको छु, त्यो चाडै सुरु गर्छु,’ उनले भने ।