• २०७५ मङ्सिर २ आइतबार / Sunday, November 18

किसानलाई धान भित्र्याउने चटारो

Fm Radio Link

 

खोकना - ललितपुर महानगरपालिका–२१ का भरत डङ्गोललाई अहिले धान भित्र्याउन चटारो छ । शनिबार उहाँले खोकनाको खाँसी फाँटमा धान थन्क्याउन पर्म लगाउनुभयो । आज पनि उहाँ धान भित्र्याउन मै व्यस्त हुनुहुन्छ । “धाभ भित्र्याउन मारामार छ, अहिले गाउँमा कसैलाई फुर्सद छैन,” उहाँले भन्नुभयो । अर्का किसान पञ्चराम महर्जन माना रोपेर मुरी भित्र्याउने काम चलिरहेको बताउनुहुन्छ । उहाँ धान चुटेर परालको कुन्यू लगाउँदै हुनुहुन्थ्यो । चार रोपनी जग्गामा खेताला लगाएर उहाँले धान भित्र्याउनुभयो । करीब २५ देखि ३० मुरी धान उत्पादन हुने आशा उहाँको छ । 

“मेसिनबाट धान झार्न दुईजना खटिएका छन्, बिटा बोक्ने, पोगटा उडाउने धान उठाउन छुट्टाछट्टै खेताला छन्,” महर्जनलले भन्नुभयो, “पहिले हातले चुट्थ्यौँं, अहिले उपकरणका कारण सहज भएको छ ।” कुन्यूमा हक्वा बनाउनका लागि केही धान राखिने र खानका लागि छुट्टै राख्ने उहाँले बताउनुभयो । कुन्यूभित्र राखेको धानको चामल चिनी रोगीका लागि राम्रो हुने उहाँले बताउनुभयो । यहाँको धान पहिले जस्तो छैन । खेतमा घर बढेकाले उत्पादन घट्दो छ । 

अहिलेसम्म भने किसानले यहाँ उत्पादित बढी धान बाहिर बेच्दै आएका छन् । विस्तारै खेतमा घर बढ्दै गएपछि यहाँ धान किन्नुपर्ने अवस्था छ । घाम लागेपछि खोकनावासी घरमा भेटिदैनन् । सबै खेतमा छन् । साँझसम्मै खेतमा हुन्छन् । भेट्न आउने आफन्त पनि खेतमै पुग्छन् । सर्विन महर्जन पनि धान भित्र्याउने चटारोमा हुनुहुन्छ । दशैं सकिएलगत्तै किसान फाँट पसेका छन् । यहाँको खाँसी, डोले फाँटमा किसान खेतखेतमै देखिन्छन् । धान चुट्ने, बिटा बोक्ने, पोगटा उडाउने र बोकेर घर लैजाने काममा व्यस्त छन् । किसान कतै धान काट्दै पनि छन् । 

घुम्न गएका बाह्य र आन्तरिक पर्यटक किसानले धान भित्र्याउँदै गरेका दृष्य कैद गरिरहेका भेटिन्छन् । आफैमा सुन्दर फाँट त्यसमाथि खाने तेल र चिउराका लागि प्रख्यात हो खोकना । चिउराका लागि यहाँ अधिकांशले ताईचिन धान लगाएका छन् । अर्काे खेतमा तीर्थ महर्जन र वीरबहादुर महर्जन धान काट्दै हुनुहुन्छ । तीन रोपनी चार आना जग्गामा लगाएको धानखेतीमा यसपाली दाना राम्रो भएकाले वीरबहादुर खुशी हुनुहुन्छ । “पोहरभन्दा यसपाली दाना राम्रो छ, मौसम सफा भएकाले भिज्ने डर पनि छैन”, उहाँले भन्नुभयो । खोकनामा वल्लोपाखादेखि पल्लो पाखासम्मै पहेँलपुर धानको फाँट देख्न सकिन्छ । 

ललितपुर महानगरपालिका–२१ मा खोकना पर्छ । यहाँका वडाध्यक्ष रवीन्द्र महर्जन अहिले खोकनाका फाँट किसानले भरिएको बताउनुहुन्छ । मल अभाव भएकाले गएको वर्षभन्दा यसपाली धान उत्पादन घट्ने आशङ्का महर्जनलाई छ । यहाँ प्रति रोपनी आठदेखि १२ मुरी धान फल्छ । उहाँका अनुसार ६ हजार रोपनीमा धानखेती हुन्छ । यहाँ अनुमानित ५० देखि ६० हजार मुरी धान उत्पादन हुन्छ । यसको २५ प्रतिशत धान बाहिर बिक्री हुने अनुमान छ । 

उर्वरभूमि भए पनि ललितपुर महानगरपालिकामा कति धानखेती हुन्छ यकिन तथ्याङ्क छैन । महानगरपालिकाको कृषि तथा सहकारी महाशाखा प्रमुख केशव अधिकारी अहिले महानगरले तथ्याङ्क सङ्कलनको काम थालेको बताउनुहुन्छ । ललितपुरमा धानको अवस्था राम्रो भए पनि महानगरलाई भने आयात गर्नुपर्ने अवस्था छ । उहाँका अनुसार करीब रु तीन करोडको खाद्यान्न आयात गरिन्छ । 
 

प्रतिकृया दिनुहोस
-->