• २०७५ कार्तिक २६ सोमबार / Monday, November 12

२ वर्षअघि शुरु भएको नारायणपुरमा खानेपानी योजना निर्माण कार्य सम्पन्न

निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् ।

Fm Radio Link

दाङ - नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे दुई वर्षपहिले शुरु भएको नारायणपुर खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांशले हालसम्म कुवाको पानी पिउँदै आएका छन् । नेपाल सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको २० प्रतिशत श्रमदान र १० प्रतिशत नगद गरी जम्मा रु १५ करोड १४ लाखको लगानीमा सो योजना सम्पन्न भएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले जानकारी दिनुभयो । 

सो योजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, पानी छान्ने मसिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको रिजर्भ ट्याङ्की निर्माण र पाइप लाइन विस्तारलगायत काम गरिएको पनि अध्यक्ष रजौरेले जानकारी दिनुभयो । 

विसं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडौँ पाएको थियो । तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्ने भन्दै त्यहाँका उपभोक्ताहरुले निर्माण कम्पनीलाई यसअघि पटक पटक दबाब दिँदै आएका थिए । सो खानेपानी योजनाबाट नारायणपुर क्षेत्रका तीन हजार २९ घरघुरीका १४ हजारभन्दा बढीले पानी खान पाउने भएका छन् । केही दिनपछि धाराबाट पानी वितरण गरिने बताइएको छ । 

प्रतिकृया दिनुहोस
-->